रिज लाइन इनर्जी लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँड गरेपछि बाँकी सेयर सर्वसाधारणका लागि जारी गरिनेछ। सर्वसाधारणलाई जारी पूँजीको १२ प्रतिशत अर्थात १४ करोड २२ लाख रुपैयाँ बराबरको १४ लाख २२ हजार कित्ता सेयरमध्ये २८ हजार ४४० कित्ता (२ प्रतिशत) कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ११ लाख ८० हजार २६० कित्ता सेयर सार्वजनिक निष्कासन गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ। स्थानीय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार तथा पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

Online Arthik










