चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ। गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८ दशमलव ७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको हो। मन्त्रालयले हालै सार्वजनिक गरेको नतिजामा ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा सोही वर्गकै रसुवा जिल्ला प्रशासन कार्यालयले २८ दशमलव ६८७५ अङ्कसहित दोस्रो स्थान प्राप्त गरेको छ।
त्यसैगरी ‘ख’ वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय धनकुटाले २८ दशमलव ५ अङ्कसहित तेस्रो, स्याङ्जाले २८ दशमलव ३७५ अङ्कसहित चौथो र पर्वतले २८ दशमलव ३१२५ अङ्कसहित पाँचौँ स्थान हासिल गरेका छन्। ‘क’ वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय ललितपुरले २८ दशमलव २५ अङ्कसहित छैटौँ स्थान प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विकट जिल्लामा रहेर जनताको सेवा गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन्। उनले सन्तुष्टि र आत्मसम्मानका आधारमा काम गर्दा सोहीअनुसारको सकारात्मक नतिजा प्राप्त भएको बताए। कार्यसम्पादनमा उत्कृष्ट हुनुका आधार प्रस्तुत गर्दै उनले सोलार प्रणालीमार्फत नियमित विद्युत् आपूर्ति गरी अनलाइन सेवा प्रवाह गरिएको, घुम्ती शिविर सञ्चालन गरी सबै पालिकामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिएको तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइएको जानकारी दिए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा आउने गुनासाहरू समयमै फर्छ्यौट गरिएको छ भने एक वर्षभित्र टुंग्याउनुपर्ने उजुरीहरू एक महिनाभित्रै समाधान गरिएको छ। यसका साथै नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरीका लागि बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न जग्गा व्यवस्थापन गरी हस्तान्तरण गरिएको, नागरिकलाई प्रत्यक्ष असर पार्ने सडक पूर्वाधारलाई नियमित र व्यवस्थित बनाइएकाले सदरमुकामसम्म पुग्ने समय किफायती भएको उनले बताए।
हाल मनाङमा तापक्रम माइनस १० डिग्रीसम्म झरेको अवस्थामा पनि सबै कर्मचारी र सुरक्षाकर्मी जनताको सेवामा निरन्तर खटिरहेको प्रजिअ पौड्यालले उल्लेख गरे। इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका उपसचिव पौड्याललाई गृह मन्त्रालयले गत भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो।
गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व र प्रशासनिक कार्यशैलीलगायतका सूचकका आधारमा नियमित मूल्याङ्कन गर्दै आएको छ। मनाङको उत्कृष्ट नतिजा जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी तथा जिल्लास्थित सबै कार्यालयहरूको सामूहिक प्रयासको प्रतिफल भएको प्रजिअ पौड्यालले बताए। (रासस)

Online Arthik










