एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङले चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ। कम्पनीले ‘टिङटिङ नेक्स्ट’ नामक भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो। नेपालमै पहिलो पटक यस्तो किसिमको एआई–आधारित टेलिफोनी प्रडक्ट लञ्च गरिएको दाबी गर्दै टिङटिङले यसलाई नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरुवातको रूपमा व्याख्या गरेको छ।
टिङटिङका अनुसार यो लन्च केवल नयाँ सञ्चार उपकरण सार्वजनिक गर्नेमा सीमित छैन, बरु यसले समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक स्थापित गरेको छ। व्यवसाय विस्तारसँगै ग्राहक र कम्पनीबीचको आत्मीयता कमजोर हुँदै संवाद डाटामा मात्र सीमित हुने चुनौतीलाई समाधान गर्न टिङटिङको अवधारणा आएको कम्पनीको भनाइ छ। “आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो,” भन्दै कम्पनीले अन्य प्रविधिहरूले ‘कसरी बोल्ने’मा जोड दिँदा आफूहरूले ‘ग्राहकलाई कसरी बुझ्ने’ भन्ने कुरालाई केन्द्रमा राखेर प्रणाली विकास गरिएको स्पष्ट पारेको छ।
यस लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्ने टिङटिङको दाबी छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन। एआई प्रविधिको प्रयोगमार्फत नेपालमै विश्वस्तरीय प्रडक्ट विकास गर्नु प्रविधि क्षेत्रमा ठूलो फड्को भएको कम्पनीको बुझाइ छ। अर्बौँ प्रयोगकर्ता स्केलसम्म विस्तार हुन सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत नेपालमै भरपर्दो एआई निर्माण सम्भव छ भन्ने प्रमाणित भएको टिङटिङको भनाइ छ। यसले स्थानीय एआई इकोसिस्टम फस्टाउन बलियो आधार तयार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
टिङटिङ भ्वाइस अन्तर्गत ‘रिरी’ नामक टेक्स्ट–टु–स्पीच इन्जिन यस इकोसिस्टमको केन्द्रमा रहेको छ। नेपालमै शून्यबाट विकास गरिएको ‘रिरी’ले स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी मौलिक नेपाली आवाजमा संवाद गर्ने क्षमता राख्दछ, जसले रोबोटिक वा विदेशी उच्चारणको अनुभव हटाउने कम्पनीको दाबी छ।
टिङटिङ टेक्स्ट नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत प्रणाली हो, जसले सार्वजनिक सूचना, सेवा अपडेट तथा सन्देशहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्याउने सुनिश्चित गर्छ। टिङटिङ फर्म्सले भने परम्परागत ग्राहक प्रतिक्रिया संकलन प्रक्रियालाई रूपान्तरण गर्दै आवाजमार्फत प्रतिक्रिया दिने सुविधा उपलब्ध गराउँछ, जहाँ एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्छ।
यसैगरी, टिङटिङ एजेन्ट लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। यसले ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता पुराना मेनु प्रणालीलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउने कम्पनीको दाबी छ। २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई पूर्ण रूपमा नयाँ स्तरमा पुर्याउने टिङटिङले जनाएको छ।
यस ऐतिहासिक लन्चसँगै टिङटिङले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता, प्रविधि र समानुभूतिसहितको भविष्य अँगाल्न आह्वानसमेत गरेको छ।

Online Arthik










