रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँका दरले कुल ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो।
ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओमा कुल ५ लाख ३२ हजार ८ सय जनाबाट आवेदन परेको थियो। तीमध्ये ५ लाख १९ हजार ४६ आवेदन सदर भएका छन्। सदर आवेदकमध्ये १८ हजार ४९५ जनालाई ५० कित्ताका दरले कुल ९ लाख २४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी रहेको १८ कित्ता सेयर १८ जना आवेदकलाई थप एक/एक कित्ताका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
आईपीओ बाँडफाँडको नतिजा लगानीकर्ताहरूले ‘मेरो सेयर’ तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।

Online Arthik










