बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमध्ये बागमती प्रदेशको हिस्सा ६५ दशमलव आठ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९ दशमलव पाँच प्रतिशत पुगेको छ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार रुपैयाँ निक्षेप सङ्कलन गरेका छन्, जसमध्ये बागमती प्रदेशबाट मात्र ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको निक्षेप उठेको छ। अन्य प्रदेशमध्ये गण्डकीबाट छ खर्ब १२ अर्ब २९ करोड, कोशीबाट पाँच खर्ब ५३ अर्ब तीन करोड, मधेसबाट चार खर्ब सात अर्ब ७३ करोड, सुदूरपश्चिमबाट एक खर्ब ७३ अर्ब ८३ करोड, कर्णालीबाट ९१ अर्ब नौ करोड रुपैयाँ बराबर निक्षेप सङ्कलन भएको छ।

कर्जा प्रवाहतर्फ गत असार मसान्तसम्म कुल ५५ खर्ब ८६ अर्ब २९ करोड रुपैयाँ बराबर ऋण लगानी भएको छ। यसमध्ये बागमती प्रदेशमा मात्र ३३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कोशीमा छ खर्ब १३ अर्ब, लुम्बिनीमा पाँच खर्ब ७७ अर्ब, मधेसमा चार खर्ब ९५ अर्ब, गण्डकीमा तीन खर्ब ५६ अर्ब, सुदूरपश्चिममा एक खर्ब ५७ अर्ब र कर्णालीमा ६२ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

कृषि क्षेत्रमा प्रवाहित कर्जा २०८२ असार मसान्तमा अघिल्लो वर्षको तुलनामा शून्य दशमलव शून्य चार प्रतिशतले घटेर तीन खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ। कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन तथा पशु बधशालामा ६१ अर्ब १९ करोड रुपैयाँ र सबैभन्दा कम सुर्तीमा २० करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। कृषि कर्जामा बागमती प्रदेशको हिस्सा ३६ दशमलव दुई प्रतिशत रहेको छ।

यस्तै, औद्योगिक क्षेत्रमा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ३० दशमलव ४२ प्रतिशत हो। औद्योगिक कर्जामध्ये बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ७१ दशमलव तीन प्रतिशत रहेको छ। सेवा क्षेत्रमा भने २१ खर्ब ८४ अर्ब चार करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जसमा कुल कर्जाको ३९ दशमलव एक प्रतिशत हिस्सा रहेको छ। सेवा क्षेत्रको कर्जामा पनि बागमती प्रदेशको अंश ५९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकको प्रतिवेदनले बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवैमा बागमती प्रदेशको वर्चस्व कायम रहेको स्पष्ट देखाएको छ।

तपाईको प्रतिक्रिया