सोलु हाईड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ। उक्त आईपीओ छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गतेसम्म खुला रहनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। सोलु हाईड्रोपावरले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोही स्वीकृतिअन्तर्गत पहिलो चरणमा गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरिसकेको छ। पहिलो चरण सफलतापूर्वक सम्पन्न भएपछि कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

Online Arthik










