समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने भएका छन्। दुवै वित्तीय संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र (एमओयू) सम्पन्न भएको थियो।

सम्झौताअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। प्राप्त मूल्यांकन प्रतिवेदनका आधारमा समितिले १ः१ सेयर स्वाप अनुपात सिफारिस गरेको हो।संयुक्त मर्जर समितिको उक्त सिफारिसलाई अनुमोदन गर्दै समृद्धि फाइनान्सको सञ्चालक समितिको ५३७ औँ बैठकले मर्जरका लागि १ः१ सेयर स्वाप अनुपात कायम गर्ने निर्णय स्वीकृत गरेको छ। यस निर्णयसँगै दुवै कम्पनीबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।

मर्जर पश्चात बन्ने नयाँ संस्थाको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ। साथै, समृद्धि फाइनान्सका वर्तमान अध्यक्ष मर्जरपछि बन्ने कम्पनीको पनि अध्यक्ष रहने विषयमा दुवै संस्थाबीच सहमति भइसकेको छ।नेपाल राष्ट्र बैंकले यसअघि स्थलगत निरीक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख संस्था भएको जनाएको थियो। राष्ट्र बैंकले कम्पनीमाथि कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराएको थियो। सो अवस्थापछि राष्ट्र बैंकको कारबाहीबाट उन्मुक्ति पाउन मर्जर एक उपयुक्त विकल्पका रूपमा अगाडि आएको बताइएको छ।यही सन्दर्भमा पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियामा जानका लागि २०८१ माघ महिनामा मर्जर–प्राप्ति समिति गठन गरेको थियो। मर्जरपछि दुवै संस्थाको वित्तीय स्थिति, सञ्चालन क्षमता र संस्थागत मजबुती थप सुदृढ हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया