नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलतालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले बन्ड निष्कासनको प्रयोग बढाएको हो।
केन्द्रीय बैंकले यसअघि गत साता दुई चरणमा गरी कुल ७५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक बन्ड निष्कासन गरिसकेको थियो। सोही श्रृंखलाअन्तर्गत तेस्रो चरणमा थप २५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरिएको हो।एक वर्षमा परिपक्व हुने यस बन्डमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पाउनेछन्। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ घ’ नाम दिइएको उक्त ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले लगानी गर्न सक्नेछन्। बन्डको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।
केन्द्रीय बैंकले २० पुस आइतबार निष्कासन गरेको बन्डको कुपन रेट २.६८ प्रतिशत कायम भएको थियो। न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। तर, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) र खुद तरल सम्पत्ति अनुपात (NLA) मा भने उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
यसैगरी, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रकम रद्द गरिनेछ। साथै, त्यस्ता काउन्टरपार्टीलाई २.५० प्रतिशत दरले हर्जाना लगाइने र ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गत हुने कुनै पनि बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

Online Arthik










