राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयहरूमा मनोनयन पत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो, जसको कार्यकाल आगामी फागुन २० गतेदेखि समाप्त हुँदैछ।आयोगले पुस १९ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको थियो भने दाबी–विरोधमाथि छानबिनपछि मंगलबार अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।

निर्वाचन कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउने व्यवस्था गरिएको छ भने सोही दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसपछि पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। आयोगले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ।

यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ।

तपाईको प्रतिक्रिया