ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा निरन्तर १५ वर्ष सेवा पूरा गरेका १७५ जना कर्मचारीलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा दीर्घकालीन सेवा प्रदान गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको हो।

काठमाडौंमा आयोजित उक्त समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सञ्चालक समिति सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरूलाई सम्मान गरे।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै सेवाको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिँदै सेवाहरूलाई अझ प्रभावकारी तथा प्रविधिमैत्री बनाउँदै अघि बढिरहेको बताए। १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमै अधिकांश वित्तीय सूचकहरूमा आफूलाई अब्बल बैंकको रूपमा स्थापित गर्न सफल भएको उनले उल्लेख गरे।

अध्यक्ष ढकालले बैंक वा कुनै पनि संस्थाको सफलतामा सशक्त नेतृत्वसँगै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको महत्वपूर्ण भूमिका रहने बताउँदै कर्मचारीहरूलाई अझ प्रतिबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे। साथै, बैंकलाई उत्कृष्ट बनाउने यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारीप्रति धन्यवाद व्यक्त गरे।

यसै अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले सेवाहरूलाई नवीन, डिजिटल र ग्राहकमैत्री बनाउँदै समयसापेक्ष लक्ष्यसहित अघि बढिरहेको बताए। नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी दिनमा ग्राहक सेवा र सन्तुष्टिलाई केन्द्रमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता सम्मानजनक अवार्डहरू प्राप्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया