युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले नगद तथा बोनस सेयर दुवै नदिने निर्णय सर्वसम्मत रूपमा गरेको हो।

बैठकले विगत चार वर्षदेखि देशव्यापी रूपमा देखिँदै आएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ। यसका कारण ग्राहक सदस्यहरूबीचको सामूहिक जमानी दायित्व कमजोर बनेको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ।

त्यसैगरी, मुलुकमा देखिएको व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको, युवा जनशक्ति विदेश पलायन तथा समग्र आर्थिक मन्दीको प्रभावले कर्जा लगानी विस्तार हुन नसकेको अवस्था रहेको उल्लेख गरिएको छ। यी सबै कारणले संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको र आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थापनमा खर्चिनु परेकाले मुनाफामा गिरावट आउनुका साथै नगद प्रवाहमा समेत नकारात्मक असर परेको बोर्डको ठहर छ।

यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने चाहना रहे तापनि वर्तमान अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै संस्थालाई सुरक्षित, स्थिर र दीगो रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय गरिएको युनिक नेपाल लघुवित्तले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया