नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका सन्दर्भमा तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेनाको परिचालन गरिनेछ।

प्रवक्ता बस्नेतले निर्वाचनको एक महिना अघिदेखि नै सेनालाई फिल्डमा परिचालन गरिने जानकारी दिँदै निर्वाचन सुरक्षा योजना सरकार तथा राष्ट्रिय सुरक्षा परिषद्बाट स्वीकृत भइसकेको बताए। उनका अनुसार निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा सेनाले गर्नेछ।

त्यसैगरी, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय, जिल्ला प्रशासन र सम्बन्धित निकायसँगको समन्वयमा तल्लो तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गरिने सेनाले जनाएको छ। मतदानका समयमा नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल तथा केन्द्रमा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ।

मतदान सम्पन्न भएपछि मतपेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी समेत नेपाली सेनाले बहन गर्नेछ। निर्वाचनलाई तोकिएको मितिमा भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेको र ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी थप सुरक्षा प्रबन्ध मिलाइने सेनाले स्पष्ट पारेको छ। सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षालाई राज्यको प्राथमिक कार्यभारका रूपमा लिएर आफूहरू पूर्ण रूपमा तयार रहेको नेपाली सेनाको भनाइ छ।

तपाईको प्रतिक्रिया