रिडी पावर कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारण सभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा सम्पन्न भएको छ। सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, लेखा परीक्षण प्रतिवेदनसहित असार ३२, २०८२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।

त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णय सभाबाट गरिएको छ।

विशेष प्रस्तावअन्तर्गत विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयलगायत नियामक निकायहरूमा कम्पनी अद्यावधिक गर्दा आवश्यक परेमा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

सभाले कम्पनीका गाडी, स्क्राप तथा अन्य सम्पत्तिहरू बिक्री गर्नुपरेमा त्यससम्बन्धी निर्णय गर्न पनि सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ।

सभामा बोल्दै अध्यक्ष कुवेरमणि नेपालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सहयोग गर्ने सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे। उनले कम्पनीको २५औँ वार्षिक साधारण सभा भव्य रूपमा आयोजना गरिने जानकारीसमेत दिए।

कम्पनीले गत आर्थिक वर्षमा विद्युत् बिक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जनाएको छ।

तपाईको प्रतिक्रिया