नेपाल आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। शनिबार आयोजित निगमको ५६औं वार्षिकोत्सव समारोहमा सार्वजनिक तथ्याङ्कअनुसार निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको व्यावसायिक कारोबार गरेको छ भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान दिएको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले स्वचालित मूल्य प्रणाली (२०७१ सालदेखि लागू) लाई निगमको आर्थिक सुधारको प्रमुख आधार बताउँदै यसलाई इतिहासकै कोशेढुङ्गा भएको उल्लेख गरे। साथै, पूर्वाधार विकासका कारण ढुवानी खर्च घट्दा उपभोक्ताले प्रतिलिटर २ रुपैयाँसम्म सस्तोमा इन्धन पाएको निगमको दाबी छ।
मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन तथा अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आएपछि निगम थप सुदृढ बनेको हो। हाल निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ।
तेल चोरी र चुहावट नियन्त्रणका लागि अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा फ्लो मिटर जडान गरिएको छ भने ईआरपी प्रणालीमार्फत मोबाइलबाटै तेल अर्डर गर्न सकिने व्यवस्था गरिएको छ।
निगमले अब क्लिन इनर्जीतर्फ उन्मुख हुने नीति लिँदै यसै वर्षदेखि पेट्रोलमा इथानोल मिश्रण सुरु गर्ने जनाएको छ। साथै, काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजन विकास गरी सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जन लक्ष्यमा योगदान गर्ने योजना बनाइएको छ।
भविष्यमा निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर जारी गर्ने विषयमा अध्ययन भइरहेको छ। साथै, ४५० किलो क्षमताको ठूला ग्यास सिलिन्डर प्रचलनमा ल्याउने तयारी पनि गरिएको छ।
हाल करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा दैनिक ७५ लाख लिटर पेट्रोलियम तथा १ हजार ५ सय टन ग्यास वितरण भइरहेको निगमले जनाएको छ। दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प, कर्णालीमा नयाँ डिपो निर्माण तथा जोखिमयुक्त डिपो स्थानान्तरणको प्रक्रिया पनि अघि बढाइएको छ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Online Arthik










