गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष, आधुनिक तथा सशक्त बनाउने उद्देश्यसहित आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। बैंकले बिहीबारदेखि (माघ १ गते) लागू हुने गरी नयाँ लोगो र छाप प्रयोगमा ल्याएको हो।

बैंकका अनुसार लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट पारित भएको थियो। त्यसपछि आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो तथा छापलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ।

परिवर्तित लोगोले गरिमा विकास बैंकको आधुनिक, सरल तथा विश्वसनीय पहिचान झल्काउनुका साथै गुणस्तरीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकद्वारा जारी विज्ञप्तिमा ग्राहक, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया