महालक्ष्मी विकास बैंक लिमिटेडले डिजिटल कारोबार प्रवर्द्धन तथा ग्राहक सुविधा अभिवृद्धिका उद्देश्यले ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्ने भएको छ।
बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना घोषणा गर्दै आएको छ। हाल बैंकको दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सेदारी औसतमा ८० प्रतिशत रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्न ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत विभिन्न आकर्षक सुविधा थप गरिएको बैंकले जनाएको छ।
अभियानअन्तर्गत ग्राहकहरूले मोबाइल एपमार्फत मुद्धती खाता खोल्दा व्यक्तिगत मुद्धती खातामा प्रदान गरिने ब्याजदरभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्नेछन्। साथै, भर्चुअल तथा साधारण क्रेडिट कार्डको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैंकिङ दर्तामा समेत १०० प्रतिशत शुल्क छुटको सुविधा प्रदान गरिनेछ।
यसैगरी, ग्राहकहरूले मोबाइल एपमार्फत फार्मेसी बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्। अडियोमार्फत भुक्तानी पुष्टि गर्ने ‘कोइली’ सेवा दर्ता गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ। उक्त अभियान २०८२ साल माघ महिनाभर मात्र लागू हुनेछ।
बैंकका अनुसार यस अभियानको उद्देश्य डिजिटल बैंकिङ पहुँच विस्तार गर्नु, नगद रहित कारोबारलाई प्रोत्साहन गर्नु तथा बैंकमा प्रत्यक्ष उपस्थितिको आवश्यकता न्यून गर्नु हो।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। यसअघि बैंकले फोनपे, भिमपे, युपिआई तथा गुगलपे जस्ता भारतीय भुक्तानी सेवा प्रदायकमार्फत क्युआर कोड भुक्तानी सुविधा समेत उपलब्ध गराइसकेको छ।

Online Arthik










