नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब रुपैयाँ पुगेको तथ्य सार्वजनिक भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको ‘स्टडी अन इन्भेस्टमेन्ट अफ हाइड्रोपावर सेक्टर’ प्रतिवेदनले उक्त तथ्यांक प्रस्तुत गरेको हो। यो अध्ययन इप्पान र बीएफआइएस न्युजको सहकार्यमा सम्पन्न गरिएको हो।
प्रतिवेदनअनुसार सरकारी क्षेत्रबाट एक खर्ब एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। निजी क्षेत्रले प्रवर्द्धन गरेका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा बैंकिङ क्षेत्रको कुल लगानी ८ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ भने निजी क्षेत्रको सेयर लगानी ४ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ।
जलविद्युत् कम्पनीहरूले सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ एक करोड ६३ लाख जनाले प्राप्त गरेका छन्। यही अवधिमा दोस्रो बजारमा एक करोड ८ लाख सेयरधनी रहेको पाइएको छ। आइपीओमार्फत जलविद्युत् कम्पनीहरूले ४१ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेका छन्।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताकै कारण नेपाल लोडसेडिङमुक्त भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए। हाल नेपालमा करिब ४ हजार मेगावाट विद्युत् उत्पादन हुँदै आएको र त्यसमा ३ हजार ३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको उनले उल्लेख गरे। सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको पनि मन्त्री सिन्हाले जानकारी दिए।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष दिपक मल्होत्राले बढ्दो जलविद्युत् उत्पादनको उचित उपयोगका लागि स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिए। ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण र तीव्र आर्थिक वृद्धिको मेरुदण्ड बन्न सक्ने उनको भनाइ थियो।सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जलविद्युत् आयोजनामा सर्भे लाइसेन्सदेखि पीपीए र निर्माण सम्पन्न गर्न १०–१२ वर्ष लाग्ने अवस्थालाई जटिल कानुनी तथा प्रक्रियागत समस्याको परिणाम बताए। उनले लगानीमैत्री वातावरणका लागि ‘सिंगल विन्डो सिस्टम’ तत्काल लागू गर्न सरकारसँग माग गरे।
इप्पान अध्यक्ष गणेश कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत् आयोजनाले लाइसेन्स लिएर काम अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार ११ हजार ६ सय मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा छन् भने करिब १६ हजार मेगावाट बराबरको पीपीए भइसकेको छ।
इप्पानका वरिष्ठ उपाध्यक्ष महन कुमार डागीले नेपालको समृद्धिका मुख्य आधार ऊर्जा, पर्यटन र कृषि भएको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा ८२ हजार मेगावाटभन्दा बढी सम्भावना रहेको बताए। आगामी केही वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन हुने निश्चित रहेको भन्दै त्यसको खपत र व्यापारका लागि समयमै नीति नबने गम्भीर समस्या आउन सक्ने चेतावनी पनि उनले दिए।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिकाको प्रशंसा गर्दै ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएकार्यक्रममा ऊर्जा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै, यस वर्षदेखि सुरु गरिएको इप्पान जर्नल अवार्ड नयाँ पत्रिकाका मिलन विश्वकर्मा र कान्तिपुर दैनिककी सीमा तामाङले प्राप्त गरेका छन्।

Online Arthik









