होटल फरेष्ट इन लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले गत पुस २० गते नेपाल धितोपत्र बोर्डबाट कुल ४० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सो कुल सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओ निष्कासन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म बन्द हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर निष्कासन सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

Online Arthik









