नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको खुद ब्याज आम्दानीमा गिरावट आएसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा घटेको छ। कम्पनीले समीक्षा अवधिमा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१४ प्रतिशतले कम हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.०८ प्रतिशतले घटेर ७४ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवमा भने निफ्राले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यद्यपि, कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने वृद्धि भएको छ। अघिल्लो आवको १ करोड ४५ लाख रुपैयाँबाट बढेर यो आम्दानी १ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५८ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने खुद सञ्चालन आम्दानी ७२ करोड ६५ लाख रुपैयाँ रहेको छ।

वित्तीय सूचकांकतर्फ हेर्दा कम्पनीको निक्षेप संकलन ७ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यस्तै कर्जा प्रवाह पनि २३ अर्ब २६ करोड रुपैयाँबाट बढेर २७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको रिजर्भ कोषमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित रहेको छ।

समीक्षा अवधिसम्म निफ्राको प्रतिसेयर आम्दानी (ईपीएस) ३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.४६ गुणा, तरलता अनुपात ९९.०१ प्रतिशत र इक्युटीमा प्रतिफल ३.२४ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया