मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानीसँगै खुद नाफामा समेत सुधार देखिएको छ।
कम्पनीले दोस्रो त्रैमाससम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.८१ प्रतिशतले वृद्धि भई ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने घटेर ५ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवमा यस्तो आम्दानी ५ करोड ९९ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा १८ करोड १९ लाख रुपैयाँबाट बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको रिटेन्ड अर्निङ ३४.१५ प्रतिशतले घटेर २३ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७३ करोड ५४ लाख रुपैयाँ रहेको रिजर्भ कोष बढेर समीक्षा अवधिमा ७८ करोड २० लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीको वितरणयोग्य मुनाफा ५६.०९ प्रतिशतले वृद्धि भई २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

Online Arthik









