शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षको अवधिमा १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। कम्पनीका अनुसार सन् २०२५ मा सञ्चालन आम्दानी १ अर्ब १४ करोड ९० लाख रुपैयाँ पुगेको छ।
यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ तथा सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
उद्योग क्षमताको उपयोग पनि क्रमशः बढ्दो क्रममा रहेको छ। सन् २०२५ मा कम्पनीले ६५ प्रतिशत क्षमतामा उद्योग सञ्चालन गरेको छ भने सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग भएको थियो।
नाफातर्फ हेर्दा, कम्पनीले सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएकोमा सन् २०२५ मा खुद नाफा बढेर २ करोड ४० लाख रुपैयाँ पुगेको छ।
सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्टले पीपी वोभन फ्याब्रिक्स तथा बोराहरू, लेमिनेटेड पीपी ब्याग, त्रिपाल, प्राकृतिक तथा रंगीन फ्याब्रिक्सलगायतका उत्पादन गर्दै आएको छ। अष्ट्रियाको गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै आएको कम्पनीले ती उत्पादनहरू आन्तरिक बजारसँगै निर्यातसमेत गर्दै आएको जनाएको छ।
शिव शक्ति ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको यस कम्पनीको नेतृत्व राहुलकुमार अग्रवालले गर्दै आएका छन्। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ७३ करोड २१ लाख रुपैयाँ ऋण लिएको छ, जसमा दीर्घकालीन ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन ६७ करोड रुपैयाँ ऋण रहेको छ।

Online Arthik









