निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ। आयोगका अनुसार हेलिकप्टरमार्फत निर्वाचन प्रचारप्रसार गर्दा अब अधिकतम दुई जनामात्र सहभागी हुन पाउनेछन्। यसका लागि सम्बन्धित राजनीतिक दलले प्रचारप्रसारका लागि दुई जना मुख्य प्रचारकको नाम आयोगमा पेश गर्नुपर्नेछ। आयोगबाट अनुमति प्राप्त भएपछि मात्र ती मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।
यसैगरी, स्थानीय तहका प्रमुख वा मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न नपाउने आयोगले स्पष्ट गरेको छ। तर, निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार रहेको क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउने व्यवस्था गरिएको छ।
नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिएर मात्र सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउनेछन्। त्यस्तै, प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत आयोगको सहमति लिएर, सहमति प्राप्त गरेको सम्बन्धित प्रदेशभित्रको स्थानमा मात्र दलको प्रचारप्रसारमा सहभागी हुन सक्ने आयोगले जनाएको छ। स्थानीय तहका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। साथै, निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल सरकारका मन्त्री तथा स्थानीय तहका पदाधिकारीले सरकारी सवारीसाधन प्रयोग गर्न नपाउने पनि आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा कुनै पनि प्रकारका सरकारी स्रोतसाधनको प्रयोग निषेध गरिएको जनाएको छ।

Online Arthik










