अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। आजको कारोबारमा सुनको मूल्य ९.०८ प्रतिशत अर्थात ४६१ अमेरिकी डलरले बढेको छ। यो समाचार तयार पार्दासम्म सुन प्रतिऔंस ५ हजार ५४७ डलरमा कारोबार भइरहेको छ। कारोबारको क्रममा सुनको मूल्य प्रतिऔंस ५ हजार ५९१ डलरसम्म पुगेको थियो।

विश्वव्यापी भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितता बढ्दै जाँदा लगानीकर्ता सुरक्षित लगानीको माध्यमका रूपमा सुनतर्फ आकर्षित हुँदा यसको मूल्य निरन्तर उकालो लागेको हो। सुनको मूल्यले पहिलोपटक ५ हजार डलरको मनोवैज्ञानिक तह गत सोमबार पार गरेको थियो। यो साता मात्र सुनको मूल्य करिब १० प्रतिशतले वृद्धि भइसकेको छ।

विश्लेषकहरूका अनुसार कमजोर अमेरिकी डलर, केन्द्रीय बैंकहरूको बढ्दो सुन खरिद तथा विश्व बजारमा बढ्दो मागले सुनको मूल्यलाई थप माथि धकेलेको छ। यसैबीच, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेपछि पनि सुनको मूल्यमा थप सकारात्मक प्रभाव परेको जनाइएको छ।

यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। चाँदीको भाउ १०.५० प्रतिशत अर्थात ११ डलरले वृद्धि भई प्रतिऔंस ११७ डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया