अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको सोही अवधिमा नाफामा फर्किएको छ। कम्पनीले दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनी ६५ करोड ३१ हजार रुपैयाँ घाटामा रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी उल्लेख्य रूपमा घटेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५२.९१ प्रतिशतले कम हो। अघिल्लो आवमा यस्तो आम्दानी १४ करोड ३० लाख रुपैयाँ रहेको थियो। कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि ३५ लाख ७५ हजार रुपैयाँबाट घटेर १६ लाख ५९ हजार रुपैयाँमा सीमित बनेको छ।
कम्पनीको निक्षेप संकलन ७ अर्ब १२ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ४ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात ३२.७७ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको सोही अवधिको ३३.४४ प्रतिशतभन्दा केही कम हो। साथै, कम्पनीको इम्पेयरमेन्ट चार्ज ६ करोड ४९ लाख रुपैयाँले रिभर्सल भएको छ।
यद्यपि, कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने लाभांश क्षमता पनि १३३.६३ प्रतिशतले ऋणात्मक रहेको छ।
वित्तीय सूचकांकतर्फ समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ५.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७६२.८४ रुपैयाँ तथा तरलता अनुपात ३९.७७ प्रतिशत कायम भएको छ।

Online Arthik









