युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी सुरु गरेको छ। कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ११ गते काठमाडौँस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे दोस्रो तथा तेस्रो वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा आईपीओ निष्कासन गर्ने, यससम्बन्धी निर्णयका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट आवश्यक संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार कार्य गर्न अख्तियारी दिने विशेष प्रस्तावहरू पारित गरिनेछन्। साथै आव २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तथा नागरिक लगानी कोष (सीआईटी) लाई प्रत्याभूतकर्ताका रूपमा नियुक्त गरिसकेको छ। कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता, कुल रु १ अर्ब ६१ लाख ७० हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनी प्रवर्द्धक रहेको ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा ३, ४ र ५ मा निर्माणाधीन ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको हालसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। यस आयोजनाको कुल लागत करिब रु ९ अर्ब रहेको छ भने युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात करिब रु ६७.५ करोड लगानी रहेको छ। आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ऋण लगानी गरिएको कम्पनीले जनाएको छ।

Online Arthik









