देशको राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकता प्राप्त काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको समष्टिगत भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाअन्तर्गत महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण हुने सातमध्ये पाँचवटा सुरुङ हाल निर्माणाधीन छन् भने मकवानपुरको धेद्रे र लेनडाँडाका दुईतर्फी चारवटा सुरुङ ब्रेक–थ्रु भइसकेका छन्। चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुने गरी काम अघि बढाइएको सेनाले जनाएको छ, जसको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटर लम्बाइको द्रुतमार्ग पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको हुनेछ। आयोजनाअन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन्, जसमध्ये हालसम्म काठमाडौंको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका १३ स्थानका विशेष प्रकृतिका पुल निर्माण सम्पन्न भइसकेका छन्। ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको छ भने बाँकी चार स्थानमा जग्गा अधिग्रहणको समस्या रहेको जनाइएको छ। हालसम्म ५४ पुलको फाउन्डेसन र ३४ पुलको सब–स्ट्रक्चर सम्पन्न भएको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ, जसको कुल लम्बाइ १२.८८५ किलोमिटरभन्दा बढी हुनेछ। साथै ११ किलोमिटर सडकको सबवेस तथा सर्भिस लेन निर्माण भई पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ। निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भइसकेको छ भने खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज निर्माणको काम भइरहेको छ। आयोजनाका लागि आवश्यक १५ हजार ४१६ रोपनी जग्गामध्ये खोकना क्षेत्र बाहेक अन्य स्थानको जग्गा अधिग्रहण पूरा भइसकेको छ। प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको यो ‘एसियन हाइवे स्ट्यान्डर्ड’को रणनीतिक महत्वको देशकै पहिलो द्रुतमार्ग २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले जनाएको छ।

Online Arthik










