देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र, स्वतन्त्रता तथा जनअधिकारका पक्षमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सपुतहरूको सम्झनामा साताव्यापी कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ, जसको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित शहीद उद्यानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिँदैछ। यस अवसरमा शान्तिवाटिकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास तथा शहीदका तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ, जहाँ प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ। शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। वि.सं. १९९७ सालमा निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई अधिकारका लागि संघर्ष गर्न प्रेरित गर्ने क्रममा शुक्रराजलाई माघ १० गते टेकुमा झुन्ड्याएर हत्या गरिएको थियो भने धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याइएको थियो। त्यसैगरी माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिन्छ। वि.सं. २०१२ सालदेखि प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने परम्परा सुरु भएको हो।

तपाईको प्रतिक्रिया