नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने प्रयोजनका लागि CARE-NP BB (Is) अर्थात् Double B (Issuer Rating) प्राप्त गरेको छ। केयर रेटिङ नेपाल लिमिटेडले २०८२ माघ १४ गते गरेको निर्णयअनुसार कम्पनीलाई उक्त रेटिङ प्रदान गरिएको हो।

नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीको रूपमा कार्य गर्दै आएको छ। कम्पनीले २०८२ पौष मसान्तभित्र संस्थापक शेयरधनीहरूबाट ५० करोड रुपैयाँ पूँजी संकलन गरिसकेको जनाएको छ। २०७४ सालमा स्थापना भएको कम्पनी पछिल्ला ६ वर्षदेखि निरन्तर खुद नाफामा सञ्चालन हुँदै आएको छ। साथै, कम्पनीले अघिल्ला वर्षहरूमा लाभांशसमेत वितरण गरिसकेको छ। कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा माथि रहेको बताइएको छ।

२०८२ माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरी चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो। सर्वसाधारणमा शेयर निष्काशन प्रक्रियाका लागि कम्पनीले गत मंसिर ८ गते लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग सम्झौता गरिसकेको छ।

तपाईको प्रतिक्रिया