सामाजिक सुरक्षा कोषमा राष्ट्रिय कल्याणकारी कोषसमेत जोडिँदा कोषमा जम्मा रकम १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। कोषले सोमबार जारी गरेको विज्ञप्तिअनुसार योजना कार्यान्वयन सुरु भएको ६ वर्ष ७ महिनाको अवधिमा कुल १०१ अर्ब २८ करोड रुपैयाँ योगदान संकलन गरिएको हो।
कोषका अनुसार उक्त रकम औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख व्यक्ति तथा अनौपचारिक र स्वरोजगार क्षेत्रमा आबद्ध करिब १ हजार ६ सय योगदानकर्ताबाट संकलन गरिएको हो।कोषका विभिन्न योजनामार्फत दाबी भुक्तानी, अवकाश भुक्तानी तथा पेन्सनसमेत गरी हालसम्म करिब १८ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको कोषले जनाएको छ।
यसैबीच, योगदानकर्ताको मागलाई सम्बोधन गर्दै कोषले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब विशेष सापटी लिनका लागि न्यूनतम १२ महिना र धितोमा आधारित सापटीका लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्नेछन्। यसअघि सापटी लिन न्यूनतम ३६ महिनाको योगदान अनिवार्य रहेको थियो।कोषले औपचारिक क्षेत्रबाट सुरु भएका योजनाहरू क्रमशः अनौपचारिक क्षेत्र, वैदेशिक रोजगारी तथा स्वरोजगार क्षेत्रसम्म विस्तार गर्दै आएको छ। साथै, चालु वर्षको वैशाख १ गतेदेखि सरकारी कोषबाट तलब–भत्ता खाने कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था लागू गरिएको छ।
हालसम्म ९१ स्थानीय तह र ३८ सार्वजनिक निकायले आफ्ना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइसकेको कोषले जनाएको छ।

Online Arthik









