ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माण कार्य ११ करोड रुपैयाँको लागतमा सुरु भएको छ। मधेस प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त कार्य अघि बढाइएको हो।

मन्त्रालयका निमित्त सचिव रामकुमार खंगका अनुसार पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी बहाव क्षेत्रमा काम गरिनेछ। दूधमति नदी विकास कार्यक्रमअन्तर्गत नदीको सौन्दर्यकरण, घाट निर्माण तथा मर्मतसम्भार, बाँध तथा सडक निर्माण र सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको छ।

उक्त नदी उत्खनन तथा विकासको ठेक्का वछालदेवी जेभी, काठमाडौंले पाएको छ। ठेकेदार कम्पनीले एक वर्षभित्र कार्य सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ। यस आयोजनाका लागि बजेट मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा विनियोजन गरिएको थियो। साथै तत्कालीन ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको विशेष पहलमा योजना कार्यान्वयनमा आएको हो।

धार्मिक ग्रन्थहरूमा पवित्र नदीका रूपमा वर्णन गरिएको दूधमति नदीमा स्नान तथा पूजाआजाको लामो परम्परा रहिआएको छ। उत्खनन तथा विकासपछि नदीको धार्मिक, सांस्कृतिक तथा सिँचाइ महत्व थप बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया