एशिया–प्रशान्त क्षेत्रमा क्यान्सर रोग स्वास्थ्य बीमाकर्ताहरूका लागि सबैभन्दा तीव्र रूपमा बढ्दो रोगका रूपमा देखिएको छ। विल्स टावर वाट्सन (डब्लुटीडब्लु) को ‘२०२६ ग्लोबल मेडिकल ट्रेण्ड रिपोर्ट’ अनुसार, पछिल्लो १८ महिनामा ५२ प्रतिशत बीमाकर्ताहरूले क्यान्सरको घटना दर सबैभन्दा धेरै बढेको बताएका छन्।
रिपोर्टअनुसार, यस क्षेत्रका बीमाकर्ताहरूले दाबी बढाउने प्रमुख क्यान्सरका प्रकारका रूपमा स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर तथा फोक्सोको क्यान्सरलाई औँल्याएका छन्। डब्लुटीडब्लुले क्यान्सरका कारण एशिया–प्रशान्त क्षेत्रभरि स्वास्थ्य बीमाको प्रयोग र लागत दुवै तीव्र रूपमा बढिरहेको जनाएको छ।करिब ८२ प्रतिशत बीमाकर्ताहरूले ४० वर्ष मुनिका व्यक्तिहरूमा क्यान्सरका घटना बढ्दै गएको रिपोर्ट गरेका छन्। युवा उमेर समूहका बिरामीहरू लामो समयसम्म उपचारमा रहने, थप कभरेज तथा निरन्तर सहयोग आवश्यक पर्ने भएकाले यस प्रवृत्तिले स्वास्थ्य बीमा र कर्मचारी लाभ योजनामाथि थप दबाब सिर्जना गरिरहेको छ।
रिपोर्टमा एशियाले विश्वका करिब ४९ प्रतिशत क्यान्सरका घटनाहरू ओगटेको उल्लेख गरिएको छ। यस क्षेत्रमै प्रत्येक वर्ष ९.८ मिलियनभन्दा बढी मानिसमा क्यान्सर निदान हुने गरेको छ। सिंगापुरमा क्यान्सर हाल मृत्युको प्रमुख कारण बनेको छ। पछिल्लो उपलब्ध तथ्यांकअनुसार, कुल मृत्युको २६.२ प्रतिशत क्यान्सरका कारण भएका छन्।यसैबीच, क्यान्सरको निदानपछि कार्यालय फर्किनुपर्ने विषयमा ६५ प्रतिशत कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्। यद्यपि, १० मध्ये ९ जना सिंगापुरवासीले काममा फर्कनुले आफ्नो स्वास्थ्य पुनःस्थापनामा सहयोग गर्ने बताएका छन्, जसले क्यान्सरबाट बाँचेकाहरूको पुनर्वास र उपचार प्रक्रियामा कार्यस्थलको भूमिका महत्वपूर्ण रहेको देखाउँछ।
डब्लुटीडब्लु एशिया–प्रशान्त क्षेत्रका हेल्थ एन्ड बेनिफिट्स रणनीतिक विकास प्रमुख ईभा लिउले भनिन्, “क्यान्सर अब कार्यस्थलभन्दा बाहिरको विषय मात्र होइन। यसले कर्मचारीको करियरका हरेक चरणमा असर पार्न सक्छ।”डब्लुटीडब्लुका अनुसार, प्रारम्भिक जाँच, रोकथाम तथा कार्यस्थल कल्याण कार्यक्रमहरू भविष्यमा क्यान्सरसँग सम्बन्धित दाबी र स्वास्थ्य खर्च नियन्त्रण गर्न प्रभावकारी उपायका रूपमा देखिएका छन्।रिपोर्टले क्यान्सर पीडित धेरै व्यक्तिहरूले डर, चिन्ता, उदासी, क्रोध र एक्लोपनजस्ता गम्भीर मानसिक तथा भावनात्मक चुनौतीहरू भोगिरहेको पनि औँल्याएको छ। एशियामा एड्भान्स्ड क्यान्सर रिपोर्ट भएका ५४ प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च स्तरको चिन्ता वा डिप्रेसन देखिएको छ, जहाँ सामाजिक कलंक अझै पनि ठूलो समस्या बनेको छ।
कर्मचारीहरूले रोजगारीको सुरक्षा, कार्यसम्पादन, आम्दानीमा सम्भावित कमी र कार्यस्थलमा रोगबारे जानकारी खुलाउने विषयमा समेत चिन्ता व्यक्त गर्ने गरेका छन्, जसले उनीहरूको मानसिक तनाव अझ बढाउने गरेको रिपोर्टमा उल्लेख छ।

Online Arthik









