खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा नमूनाको परीक्षणबाट आवश्यक प्रमाण फेला परेको भन्दै मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ।
कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म २४५ नमूना परीक्षण गर्दा २०० नमूना खानयोग्य र पाँचवटा होल्डमा राखिएको पाइएको छ। सो अवधिमा ३६५ नमूना परीक्षण गर्दा १६ नमूना प्रतिकूल देखिएका कारण नियमानुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई सुधार गर्न लगाउने र व्यवसायीलाई सजग गराउने कार्य भइरहेको छ।
अनुगमन, निरीक्षण र न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेबल विवरण नभएका र अखाद्य वस्तु ३११ किलो जफत गरी नष्ट गरिएको छ। हालसम्म कार्यालयले १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ होटल/रेष्टुराँको निरीक्षण गरेको छ। यसै अवधिमा विभिन्न शीर्षकमा रु १० लाख ४ हजार ३७० राजस्व सङ्कलन गरिएको छ।

Online Arthik










