२०८२ माघ २६ गते, महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सुन, चाँदी तथा आभूषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने प्रचलित ऐन, कानुन र नियमबारे जानकारी, सचेतना र प्रशिक्षण प्रदान गर्ने उद्देश्यले व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ। उक्त सहायता कक्षको औपचारिक उद्घाटन श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथिले पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराधका घटनाहरू बढ्दै गएकाले व्यवसायीहरू थप सतर्क र सचेत हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले व्यवसायसँग सम्बन्धित समस्या समाधान, अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी विषयमा हेल्प डेस्क प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। महासंघका अध्यक्ष किसान सुनारले यस सहायता कक्षमार्फत कानुनी तथा लेखा परामर्श, नियामक व्यवस्थासम्बन्धी जानकारी र व्यवसायिक समस्या समाधानका लागि आवश्यक सहयोग उपलब्ध हुने बताउँदै यस पहलले सुन, चाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउने विश्वास व्यक्त गर्नुभयो।

महासंघले उपभोक्ता, व्यवसायी र कालीगढबीच मध्यस्थता, सुरक्षा निकायसँग समन्वय, राजस्व र करसम्बन्धी सहजीकरण, कानुनी परामर्श, अनुगमन तथा व्यवसायिक तालिमजस्ता सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। आगामी दिनहरूमा पनि व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायिक सुधार तथा सुरक्षित व्यापारिक वातावरण निर्माणका लागि यो सहायता कक्ष निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया