भरखरै आईपीओ निष्कासन गरेको बुङ्गल हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै २ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको थियो। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २७ करोड २२ लाख रुपैयाँको तुलनामा कम हो। आम्दानी घटे पनि खर्चमा उल्लेख्य कटौती गरेपछि कम्पनी घाटाबाट नाफामा जान सफल भएको हो। वित्त खर्च २२ करोड ५ लाखबाट घटाएर ८ करोड ६ लाख रुपैयाँमा झारिएको छ भने अन्य सञ्चालन खर्च १ करोड ५ लाखबाट घटेर १४ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ। यद्यपि कम्पनीको रिजर्भ ९ करोड ४५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६७ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १९०.६६ गुणा तथा तरलता अनुपात ०.२४ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया