नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्न गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंको चन्द्रागिरिमा सम्पन्न भएको छ। सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा जेबीसी स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, बीटुबी सहकार्य र जीटुजी समन्वयका विषयमा गहन छलफल गरेका थिए। नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि लगायत क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरेको छ। कतारी प्रतिनिधिमण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए दीर्घकालीन लगानी गर्न इच्छुक रहेको बताएका थिए। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले नेपाल–कतार आर्थिक सम्बन्ध थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्‍याउने बताए। जेबीसीलाई व्यावहारिक र परिणाममुखी बनाउने, परियोजना पहिचान, समस्या समाधान र दुवै पक्षका लागि लाभदायक साझेदारी विकास गर्ने माध्यम बनाउने साझा समझदारी बैठकमा स्थापित भएको छ। यस पहलले आगामी दिनमा नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत रूपमा मजबुत गर्दै निजी क्षेत्रको प्रत्यक्ष सहभागिता र व्यावसायिक आदान–प्रदानलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया