गरिमा विकास बैंक लिमिटेड को कोष प्रवर्द्धकत्वमा पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त भएको छ। यस योजनाको व्यवस्थापक सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड रहेको छ।

१ अर्ब रुपैयाँ बराबरको यो योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो। प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको, प्रति इकाई १० रुपैयाँ दरका ५ करोड इकाई सार्वजनिक निष्कासन गरिनेछ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। बैंकका अनुसार यो योजनाले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित तथा दीर्घकालीन लगानीको अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

यसअघि गरिमा विकास बैंकको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटलको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ। कम्पनीले ‘गरिमा सुवर्ण योजना’मार्फत पुँजी बजारमा नयाँ लगानीकर्ताको सहभागिता बढ्ने तथा सामूहिक लगानी कोषप्रति विश्वास अभिवृद्धि हुने अपेक्षा गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया