कालिञ्चोक हाईड्रोपावर लिमिटेड ले आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको हो।

कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको थियो। कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागिएको हो।

जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता शेयर दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ८ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात ८२ हजार ५०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित स्थानीयका लागि आईपीओ छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया