रिज लाइन इनर्जी लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आम सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ २८ गतेदेखि सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि र २८ हजार ४४० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सोही अनुमति अनुसार पहिलो चरणमा गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिएको थियो। पहिलो चरण सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

Online Arthik









