राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने जनाएको छ। मंगलबार सार्वजनिक गरिएको परीक्षा तालिकाअनुसार परीक्षा वैशाख १४ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ। साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक विद्यार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा उपस्थित भई परीक्षा दिन सक्नेछन्।

यस वर्ष कक्षा १२ मा नियमिततर्फ करिब तीन लाख ६० हजार विद्यार्थी सहभागी हुनेछन् भने आंशिकतर्फको संख्या यकिन भइसकेको छैन। गत वर्ष नियमिततर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आंशिकतर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

बोर्डका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन। कुनै आकस्मिक बिदा परेमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाविना परीक्षा स्थगित नगरिने स्पष्ट पारिएको छ। साथै, विद्यार्थीहरू परीक्षा सुरु हुनुभन्दा कम्तीमा १५ मिनेट अगाडि नै परीक्षा केन्द्रमा पुगिसक्नुपर्नेछ र १५ मिनेटपछि आउनेलाई परीक्षामा सहभागी गराइने छैन।

तपाईको प्रतिक्रिया