आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा वा भेला आयोजना गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन जिल्ला प्रशासन कार्यालय रोल्पा ले आग्रह गरेको छ। निर्वाचन आयोग द्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको हो।
आयोगले फागुन ४ गतेदेखि जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने जनाएको छ। तर केही राजनीतिक दल तथा उम्मेदवारहरूले त्यसअघि नै प्रचारप्रसार कार्यक्रम सुरु गरिसकेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध संगठनहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ। विशेषगरी सार्वजनिक स्थलमा जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टाअगावै मिति, समय, मार्ग र स्थान स्पष्ट खुलाएर जानकारी गराई अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री ले जानकारी दिए। ‘हामीले सबै उम्मेदवारलाई मनोनयन दर्ता गर्दा नै अनुमति लिनुपर्ने कुरा भनिसकेका छौं,’ उनले बताए।
अनुमति लिनका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय रोल्पामा निवेदन दिन सक्नेछन्। साथै कार्यालयको इमेलमार्फत पनि निवेदन दर्ता गर्न सकिने प्रशासनले जनाएको छ।

Online Arthik










