नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३९ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौँ स्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरू, शुभेच्छुक, सरोकारवालाहरू तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन् ।

उनले सेवाग्राहीहरूलाई उच्चस्तरीय तथा सर्व सुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवर्धन गर्ने उद्देश्य अनुरूप कर्मचारीहरूलाई प्रविधिमा थप दक्ष बनाउने तर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरूलाई आर्टिफिसियल इण्टिलिजेन्स सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको बताइन् साथै उनले यस प्रकारका तालिमलाई निरन्तरता दिइने पनि बताइन् ।

समारोहमा, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे साथै उनले नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे ।

सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरण सहित त्यहाँ रहेका बाल बालिकाहरूलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरिएको बताए ।

उनले कर्मचारीहरूलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानिसिक रूपमा सवल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेवुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताहरू आयोजना गरिएको बताए ।

मनोरञ्जनात्मक प्रस्तुति सहित भव्य रूपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीहरूलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिन् ।

 

तपाईको प्रतिक्रिया