जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई पार्टीबाट निष्काशन गरेको छ। कारबाहीमा पर्नेमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डे रहेका छन्। पार्टीले उनीहरूलाई अनुशासन र विधानविपरीत कार्य गरेको ठहर गर्दै निष्कासनको निर्णय गरेको जनाएको छ।

जिल्ला अध्यक्ष रामनरेश रायले विज्ञप्ति जारी गर्दै पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूसहित १५ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको जानकारी दिएका छन्। साथै, केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई समेत केन्द्र तथा प्रदेश तहमा निष्काशनका लागि सिफारिस गरिएको उल्लेख गरिएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जसपाले मिनाक्षी ठाकुरलाई आधिकारिक उम्मेदवार बनाएको छ। तर सम्बन्धित जनप्रतिनिधिहरूले पार्टीकै बागी तथा स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेको आरोप लागेपछि पार्टीले कठोर कदम चालेको जनाएको छ।

तपाईको प्रतिक्रिया