२६ वर्षअघि ‘ट्रयाक’ खुलेका ग्रामीण सडकहरू अन्ततः कालोपत्र भएपछि बागलुङका स्थानीयवासीमा खुशी छाएको छ। जिल्ला सदरमुकामसँग जोडिएका मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक अन्तर्गत कुल १२.२ किलोमिटर खण्ड कालोपत्र गरिएको हो। शहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किमी, ओडारचौर–ढोडेनी २.५ किमी र गणेशघुम्ती–निरयघाट १.५ किमी सडक स्तरोन्नति गरिएको जनाइएको छ।
विश्व बैंकको ४८ करोड रुपैयाँ अनुदान सहयोगमा सम्पन्न उक्त आयोजना बागलुङ नगरपालिकाले कार्यान्वयन गरेको हो। नगर प्रमुख Basanta Kumar Shrestha का अनुसार सडक कालोपत्र भएसँगै ग्रामीण बस्तीका नागरिकलाई आवतजावत, स्वास्थ्य सेवा पहुँच र स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ। बागलुङ नगरपालिका–१, ४ र ७ नम्बर वडा जोड्ने यी सडकले स्थानीयको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
स्थानीय तुलसी सापकोटाले वर्षौंदेखि धुलो र हिलोको समस्या झेल्दै आएको बताउँदै अब सडक चिटिक्क बनेपछि घरपरिसर सफा र सुरक्षित भएको बताइन्। अर्का स्थानीय प्रेम विकले पहिले साँघुरो र कच्ची सडकका कारण साढे एक घण्टा लाग्ने बजार यात्रा अब २५–३० मिनेटमै सम्भव हुने उल्लेख गरे। सडक कालोपत्र भएसँगै यातायात, ढुवानी र दैनिक जनजीवन सहज भएको स्थानीयको अनुभव छ।

Online Arthik









