टक्सार पिखुवा खोला हाइड्रोपावरले यही फागुन २७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा आईपीओ जारी गर्न लागेको जनाएको छ। कम्पनीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डl बाट जारी पूँजीको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।
स्वीकृत विवरणपत्रअनुसार जारी पूँजीको १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थायी बासिन्दाका लागि छुट्याइएको छ। यस्तै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूका लागि छुट्याइएको छ। साथै ५ प्रतिशत अर्थात १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाका लागि र २ प्रतिशत अर्थात ६० हजार ६१३ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदनका लागि भोजपुरस्थित कम्पनीको कार्यालय, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा,सिटिजन्स बैंकको भोजपुर शाखा तथा कमलादीस्थित प्रभु क्यापिटलमा आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ।

Online Arthik









