आईएमई र साउदी अरबको डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारका लागि महत्त्वपूर्ण समझदारी भएको छ। साउदी अरबको राजधानी Riyadh मा आयोजित विशेष समारोहमा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा साउदीका लागि नेपालकी कार्यबाहक राजदूत सिर्जना अधिकारीसहित दुवै कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। यस सहकार्यले नेपाल र साउदी अरबबीच ‘डिजिटल वित्तीय कोरिडोर’ निर्माण गर्ने लक्ष्य राखेको छ, जसले परम्परागत रेमिटेन्स प्रणालीलाई आधुनिक डिजिटल प्रविधिमा रूपान्तरण गर्ने विश्वास लिइएको छ।

साउदी अरबको Saudi Vision 2030 अन्तर्गतको नगदरहित समाज निर्माण अभियान तथा नेपालको विस्तारिँदो डिजिटल वित्तीय पहुँचलाई यो साझेदारीले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। टिक्मोसँगको सहकार्यपछि साउदीको जुनसुकै स्थानबाट पनि सुरक्षित, सहज र छिटो तरिकाले नेपालमा रकम पठाउन सकिने कम्पनीहरूले जनाएका छन्। सम्झौतासँगै आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ नामक प्रवर्द्धनात्मक योजना पनि सार्वजनिक गरेको छ। पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने उक्त योजनाअन्तर्गत साउदीमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

विगत २२ वर्षदेखि रेमिटेन्स सेवामा सक्रिय आइएमईले हाल नेपालका ७७ वटै जिल्लामा रहेका १२ हजारभन्दा बढी सब–एजेन्ट तथा बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित रूपमा रकम वितरण गर्दै आएको छ। नयाँ सहकार्यले विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाइलाई आफ्ना परिवारसम्म अझ छिटो, सुरक्षित र भरपर्दो माध्यमबाट पुर्‍याउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया