एपोलो हाईड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ २८ गतेदेखि उक्त सेयर बिक्री खुला गरेको थियो।
कम्पनीले माघ २० गते नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीयतर्फ छुट्याइएको सेयरमध्ये ५० प्रतिशत अर्थात ३ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–७ र ८ का बासिन्दाका लागि, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दाका लागि तथा २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका–१ का स्थानीयका लागि छुट्याइएको थियो।बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँ बराबरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्रीमा राखिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्काशन गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

Online Arthik










