कालिञ्चोक हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन १३ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ८२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ। कम्पनीले गत माघ १९ गते नेपाल धितोपत्र बोर्डबाट रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति पाएको थियो। कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँ रहेको छ, जसको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक निष्कासनमा ल्याइएको हो। सोमध्ये ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने बाँकी ८ लाख २५ हजार कित्ता सर्वसाधारण तथा सम्बन्धित समूहका लागि निष्कासन गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गते बन्द हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया