नेपाल राष्ट्र बैंकले आज (आइतबार) ८७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ११० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट निक्षेप संकलन गर्न लागेको हो। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। अधिक तरलता र बजार ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकतामा राख्दै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था छ। निक्षेप संकलनका लागि अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ र ब्याजदर पनि बोलकबोलकै आधारमा निर्धारण हुनेछ। आज संकलन हुने निक्षेप उपकरणको सावाँ तथा ब्याज २०८३ जेठ १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदरलाई व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानका आधारमा राष्ट्र बैंकले पछिल्ला दिनहरूमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया