सरकारले मध्यपूर्वका देशमा बढ्दो तनावका कारण खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार, इजरायल, अमेरिका र इरानबीचको युद्ध र बढ्दो तनावलाई ध्यानमा राख्दै वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन रोक लगाएको हो।

इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढेको छ। मन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण श्रम स्वीकृति स्थगित गरिएको र विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरिएको बताए। त्यस्तै, श्रम मन्त्रालयको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ। सरकारले आवश्यक परे नेपालीहरूको उद्धारका लागि पनि योजना बनाएको र बढ्दो परिस्थिति अनुसार तत्काल कदम चाल्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया