हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ सम्बन्धी प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते पर्सास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव, निष्कासन प्रक्रियाका लागि आवश्यक कागजात तयार गर्ने तथा नियमनकारी निकायसँग पत्राचार गर्ने र आवश्यक अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछन्। साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सञ्चालक समितिलाई अख्तियारी दिने तथा कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावसमेत छलफल तथा पारित गरिने जनाइएको छ।
यसैगरी, सभामा गत आर्थिक वर्षको वित्तीय विवरण तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदनसमेत अनुमोदन गरिनेछ।

Online Arthik









